गुल्मी ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन चलिरहेको छ । काँग्रेस गुल्मीले पनि वडा र पालिकाको अधिवेशन सम्पन्न गरेको छ भने अब काँग्रेसको प्रदेश सभा र प्रतिनिधिसभाको नेतृत्व चयन गर्दैछ । काँग्रेसको यसै अधिवेशनअन्तरगत गुल्मी क्षेत्र नम्बर २ को सभापतिका लागि अनिल बस्नेतले दाबी गरेका छन् ।

काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका बस्नेतले यही असौज १४ गते हुने निर्वाचनबाट सभापतिमा चुनिने अपेक्षा गरेका छन् । बस्नेत २०५५ सालमा नेविसंघमा आवद्ध भएका थिए । २०६२÷६३ को आन्दोलनमा पनि अग्रमोर्चामा रहेका थिए ।

२०६७ सालमा काँग्रेसको १२ औँ महाधिवेशनमा तत्कालिन अर्खले गाविसको सचिव, १३ औँ अधिवेशनमा रेसुङ्गा नगरकार्यसमितिको सचिव एवं १४ औँ महाधिवेशनमा पार्टीको गुल्मी क्षेत्र नम्बर २ को सचिव पदमा निर्वाचित भएका थिए ।

‘काँग्रेसमार्फत निरन्तर समाजसेवामा सक्रिय छु ।’ उनले भने, ‘अब यस क्षेत्रकै नेतृत्व लिने योजना बनाएको छु ।’ उनले विभिन्न स्थानीय, प्रदेश एवं संघीय निर्वाचनमा काँग्रेसलाई जिताउन सक्रियताका साथ भूमिका खेलेको, निरन्तर पार्टीका नेता–कार्यक्रतासँग सम्पर्कमा रहेको एवं निस्वार्थ ढंगले नागरिकको सेवामा लागेकोले आफुले नेतृत्व प्राप्त गर्ने उनले बताए ।

त्यसका साथै उनले पार्टीको सभापति भइसकेपछि गुल्मी–२ को विकासमा नयाँ ढंगले भूमिका खेल्ने, अन्तरस्थानीय तहसँग समेत समन्वय गर्ने, संघ, प्रदेश र पालिकालाई एकीकृत ढंगले विकाससँग जोड्ने र पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउन भूमिका खेल्ने बताए ।

गुल्मी क्षेत्र नम्बर २ का लागि रेसुङ्गा नगरपालिकाका वडा नम्बर १ देखि ६, धुर्कोट, मदाने, मालिका, इस्मा र मुसिकोट नगरपालिकाका प्रतिनिधिहरु मतदाता हुन् । यस क्षेत्रमा एक हजार एक सय ५० भन्दा बढी मतदाता रहेका छन् । सभापतिका दाबेदार बस्नेत युवा पुस्तामाझ लोकप्रिय मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर