काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काभ्रेले रसुवाको भोटेकोशीमा भदौ १० गतेको बाढीमा बेपत्ता भएका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ ।
प्रशासनले बाढीमा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न जिल्लाका पालिकालाई प्रक्रिया र समयसीमा तोकेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रिया अनुसार बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको पालिका, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ ।
यसका लागि सम्बन्धित पालिकाले वडा कार्यालय मार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ ।
परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ । यस्तै परिवारका सदस्य नभएको हकमा वडाध्यक्षले वडासचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी वडामा निवेदन पेस गर्नुपर्ने, वडा समितिले प्राप्त निवेदनमाथि तुरुन्त जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्ने र त्यही समितिले बेपत्ता व्यक्ति एकिन गर्ने निर्णय गरेको छ ।
प्राप्त निवेदन तथा विवरणमाथि पालिकाले तीन दिनको दाबी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ । समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरेको छ ।
स्रोत ः उज्यालो अनलाइन






