काठमाण्डौ । असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

दशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख छ । आज शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्ति पीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।

धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमकाअनुसार आजैका दिन राती कालरात्रिका रूपमा विधि र पूजा आराधना गर्ने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व रहेको उहाँले बताउनुभयो । महाअष्टमीका दिन राती हनुमान ढोकाको दशैँघरमा कालरात्रि पूजा गरिन्छ ।

यस्तै आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरमा पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लागेको छ ।

यसै गरी उपत्यकाबाहिरका धादिङको कालीका भगवती, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरी, नाला भगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिन्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखी पूजा गर्ने गरिन्छ । परम्परा अनुसार कतिपयले काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल चढाई पूजा गर्छन् ।

स्रोत ः उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय